काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रूपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बौद्धिक पेसाकर्मी अभियान परिषद्को नयाँ वर्ष शुभकामना आदान प्रदानमा उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुरा बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए ।
उनले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यहीँ मिसिन भने नगएको जिकिर गरे ।
महामन्त्री थापाले भने,‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ । तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । त्यसकै अंग बन्न गएकै होइन ।’
२०६० देखि ७० सालसम्मको १० वर्ष माओवादी हिंसाले सृजना गरेको परिणामहरुको व्यवस्थापन गर्दै बितेको उनको भनाइ छ ।
उनले भने,‘अब दौडने बेला भयो । संविधान पनि बन्यो सिस्टम पनि बन्यो । त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि चाँही धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ ।’