बेलौरी (कञ्चनपुर) । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् ।
गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाले मिलेर दमकल खरिद गर्ने निर्णय गरेका हुन् ।
बिहीबार बेलौरी नगरपालिकामा बसेको पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
अग्नि नियन्त्रक दमकल खरिदका लागि लालझाँडी गाउँपालिकाले ३५ प्रतिशत र बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत खर्च बेहोर्ने गरी साझेदारीमा दमकल खरिद गर्न लागिएको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताए ।
आगलागी जन्य ठुला घटनाबाट धनजनको क्षति न्यूनीकरणमा मदत पुग्ने अपेक्षा गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । हाल बेलौरी नगरपालिका लालझाँडी गाउँपालिकामा दमकल अभाव छ । चालु आर्थिक वर्ष भित्रै दमकल खरिद गरिसक्ने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताए । उनले एक साता भित्रै दमकल खरिदका लागि टेण्डर आह्वान गरिने बताए ।