काठमाडौँ। निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ ।
बुधबार (आज)बाट यो विधेयकमाथिको छलफल सकिएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको थियो ।
सोही तयारीस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि समितिमा बोलाइएको थियो । ‘प्रचण्ड’ समितिका सदस्य पनि हुन् ।
तर, उनीहरू दुवै बैठकमा उपस्थित भएनन् ।
समितिका सभापति रामहरि खतिवडाका अनुसार, अब विधेयकमाथि शीर्ष तहमा छलफल गर्ने तयारी छ । ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग विधेयकका केही जटिल विषयमा कुरा गर्ने बताएका छन् ।
कुलिङ पिरियड, प्रदेश सचिव, प्रमुख प्रशासकीय अधिकृत लगायतका महत्त्वपूर्ण विषयमा ‘प्रचण्ड’ले छलफल गर्न खोजेका हुन् ।