काठमाडौँ । कोशी प्रदेशको राजधानी विराटनगरलगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१३ बाट चेकजाँचको क्रममा धनकुटा शहिदभूमि गाउँपालिका-७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप-महानगरपालिका-१० का ३२ वर्षीय मनोज गुरुङलाई ६ किलोग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ ।
यस्तै, सुनसरीको देवानगंज गाउँपालिका-२ बाट भारत अररिया पत्राहा-१५ का २६ वर्षीय महम्मद जावेद, ३० वर्षीय महम्मद जमशेर र २५ वर्षीय महम्मद आलविनलाई गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-९ का २४ वर्षीय जनम गहतराजलाई २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।