काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गरेका छन् ।
बारपाकमा भूकम्प स्मृति दिवस कार्यक्रम मनाउन वारपाक जान लागेका ‘प्रचण्ड’ले गोरखा नगरपालिका-१२ का सहिद परिवारसँग भेटघाट गर्दै बलिदानका कारणले आजको राजनीतिक परिवर्तन सम्भव भएको र सहिदहरू देशका साझा सम्पत्तिको रूपमा रहेको बताए ।
गोरखा नगरपालिका-१२ दशकिलोमा अत्यधिकमात्रामा बसोवास गर्दै आएका कुमाल समुदायबाट दस वर्षे जनयुद्धमा नौ जनाले शहादत प्राप्त गरेका थिए । सहिद परिवारलाई भेट गर्दै अध्यक्ष ‘प्रचण्ड’ले सहिदहरुले देखाएको बाटोमा निरन्तर रूपमा अघि बढिरहेको धारण व्यक्त गरे ।
तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा परी गोरखा नगरपालिका १२ का कुमाल समुदायबाट भिष्म कुमाल, रुद्र कुमाल, सूर्य कुमाल, चक्र कुमाल, कोपिला कुमाल, बीरबहादुर कुमाल, जमुना कुमाल, सिताराम खनाल र कोपिला कुमालले शहादात गरेको माओवादी केन्द्र जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए।
सहिद परिवारको छलफलमा सहभागी हुँदै ‘प्रचण्ड’ले पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरूको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धसहित अहिलेसम्म सबै आन्दोलनका क्रममा सहिद हुनेहरूलाई राष्ट्रिय सहिद घोषण गरी राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा स्थापित गरेको बताए ।
सहिद परिवारको गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले पार्टीमा अलि अलि समस्या भएको तर वर्ग नछाडिएकाले शहिद परिवारको गुनासो सम्बोधन गर्न आफू सधैँ लागिरहने विश्वास व्यक्त गरेका छन् ।







