पर्वत । पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दर खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो ।
पर्वतको कुश्मा नगरपालिका-८ चुवामा पर्ने सुन्दर खोलामा पहिलो पटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिइन् । उनका अनुसार विगत तीन महिनादेखि पुल निर्माण सुरु गरिएको हो । असी मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर हुने भएको छ । डबल स्पानको उक्त पुल सामान्य पुलभन्दा लामो भएकाले दुई वटा स्पान बनाएर निर्माण गर्न थालिएको हो ।
पुल निर्माणका लागि २०७९ भदौमा लुम्बिनी/प्राकृतिक जेभी काठमाडौँसँग सम्झौता भएको थियो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकै पटक पाँच पुल निर्माणका लागि सम्झौता भएको भए पनि हालम्म पर्वत खण्डको तमादी खोलामा मात्र पुल निर्माण सम्पन्न भएको छ । दोस्रो पुल निर्माण सुन्दर खोलामा सुरु भएको पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर मिश्रले जानकारी दिइन् ।
इञ्जिनियर मिश्रका अनुसार रु. नौ करोड ५० लाखको लागतमा निर्माण हुने सो पुलको निर्माण अवधि आगामी भदौसम्म छ । निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न भनिएको छ । हालसम्म पुलको एकतर्फका पिलरको काम सम्पन्न गरी अर्कातर्फको भागमा काम भइरहेको छ । समग्रमा अहिलेसम्म १० प्रतिशत जति प्रगति भएको छ । उक्त खोलामा पुल निर्माण नहुँदा दुई वर्षअघि बाढीले बगाएर दुई जनाको ज्यान गएको थियो । हिउँदयाममा सहज रूपमा यातायात सञ्चालन हुने भए पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ । यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङका साथै रुकुमका लागि सवारीसाधन आवतजावत गर्दछन् ।
अत्यधिक सङ्ख्यामा र उच्च भारवहन क्षमताका सवारीसाधन सो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबलभन्दा बलियो, टिकाउ उच्च भारवहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको इञ्जिनियर मिश्रको भनाइ छ । पर्वतमा अझै दुई पुल निर्माणको काम बाँकी छ । मोदी गाउँपालिकाको पाती खोला र मोदी खोलामा दुई वटा पुल निर्माण गरिने भएको हो ।
कार्यालय प्रमुख शम्भु आचार्यका अनुसार मोदी खोलामा ६२ मिटर र पाती खोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२-५२ मिटर लामो दुई वटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको उनले बताइन् ।
उक्त निर्माण कम्पनीले बागलुङको काठेखोलामा पनि मोटरेबल पुल निर्माण गर्न लागेकाले सबै मोटरेबल पुलको लागत रु. ४४ करोड १५ लाख रहेको कार्यालयले जनाएको छ । मध्य पहाडी लोक मार्गअन्तर्गत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिंगल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।