काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चौधरीलाई बुटवलबाट पक्राउ गरेको हो। चौधरी विद्युतीय अपराध(साइबर क्राइम) मुद्दामा पक्राउ परेका हुन् ।
रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो। पक्राउ पुर्जी जारी भएपछि चौधरी फरार थिए।
उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। चौधरीलाई पक्राउ गरी बुझाउन इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो।
उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।







