काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित प्रहरी नियन्त्रणमा रहेका सात जनालाई थुनामुक्त गरिएको छ ।
आइतबार दिउँसो काठमाडौँको नारायण चौरमा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका थापासहित सात जनालाई थुनामुक्त गरिएको हो। उक्त प्रदर्शनमा सुरूमा ६ जना र पछि दुई गरी आठ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा. राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौजसमेत गरेकाले हिरासतमै राखिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
रिहा हुनेमा थापासहित सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमिका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली, भक्तपुरका सरोज तिमिल्सिना छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि उपत्यकामा प्रदर्शन गरिरहेका छन् ।







