काठमाडौँ । सर्लाहीको लालबन्दी बजारमा किसानले बिक्री गर्न ल्याएको मिटर बोडीमा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ ।
बागमती नगरपालिका–१०, सोल्टीका किसान हरिन्द्र महतोले उत्पादन गरेर बजारमा बिक्री गर्न ल्याएको ७० केजी मिटर बोडी परीक्षण गर्दा अत्यधिक विषादी पाइएपछि नष्ट गरिएको हो ।
नियमित रूपमा तरकारीको नमुना परीक्षण गर्दा सोल्टीका किसान महतोले फलाएर मंगलबार बिहान बजारमा ल्याएको बोडीमा ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा ७४.९०५ प्रतिशत पाइएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ ।
एकाइका अनुसार उपभोग्य अयोग्य रहेको ७० केजी बोडी लालबन्दी थोक तरकारी बजार छेउको डुमडुमेखोलामा गाडेर नष्ट गरिएको छ । परीक्षण गर्दा विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भएको तरकारी उपभोग अयोग्य हुने र त्यसलाई नष्ट नै गर्नुपर्ने प्रावधान रहेको प्राविधिकहरुको भनाई छ ।
लालबन्दी बजारमा दिनहुँ तरकारीमा विषादीको परीक्षण हुने गरेको छ ।







