काठमाडौँ । नेकपा माओवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुटाउन साँझ ६ बजेसम्मको समय दिएको छ ।
आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा छैंठौँ दिनसम्म लम्बिएको छ ।
बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको छ ।
पछिल्ला तीनदिनदेखि सहमति नेतृत्व ल्याउनका लागि प्रयास भइरहेपनि चयन हुन भने सकेको छैन । सहमति खोज्नका लागि निर्वाचन आयोगले तीन पटकसम्म निर्वाचनका कार्यतालिका संशोधन गरेको छ ।
वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । उपमहासचिव बस्नेत, वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, संगठन अध्यक्ष सुबोध शेर्पाली सहमति खोज्न बैठक बसिरहेको वाईसीएलका अध्यक्ष शेर्पा लीले जानकारी गराए ।
वाईसीएलका अध्यक्ष शेर्पा लीले शुक्रबार नयाँ नेतृत्व चयन हुने दाबी गरे । ‘पार्टीले हामीलाई छ बजेसम्मको समयसीमा दिएको छ । अध्यक्षको दाबी गर्नेसँग पार्टीका नेताहरुले पनि सहजीकरण गरिरहनुभएको छ,’ शेर्पा लीले भने ।
आकांक्षीहरुसँग पार्टी उपमहासचिव बस्नेत र संगठनका इञ्चार्ज दीपशिखाले संवाद गरिरहेका छन् । पार्टी सचिवालय बैठकले सर्वसम्मतबाट नेतृत्व ल्याउन सुझाव दिएको थियो । वाईसीएल नेताहरूका अनुसार अध्यक्षका आकांक्षी १३ जनाबाट घटेर ३ मा आइपुगेको छ ।
तीन जनामा एकले अर्कोलाई छोड्न तयार नहुँदा सहमति जुट्न नसकेको संगठनका एक नेताले जानकारी गराए ।
संगठन स्रोतका अनुसार केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी वीचमा सहमति जुटाउने प्रयास भइरहेको छ । कुँवर वर्तमान समितिमा उपाध्यक्ष, ओली उपमहासचिव छन् भने पुलामी सचिव हुन् ।
अध्यक्षको नाममा सहमति जुटेपछि अन्य पदमा समस्या नहुने संगठनका नेताहरुले बताएका छन् ।







