बाजुरा । शुक्रबार बुढीगंगा नगरपालिका-६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले प्रारम्भिक रूपमा ३५ पसलको क्षतिको विवरण संकलन गरेको उक्त पसलको रु. आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको रु. एक करोड ८० लाख क्षति भएको पाइएको छ ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको रु. एक करोड ५० लाख, छत्र थापाको रु. एक करोड ५० लाख र धनबहादुर साउदको रु. एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले संकलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन । आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।
शुक्रबार अपराह्न ३:३० बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नी नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरूले गुनासो गरेका छन् ।
“स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो”, पीडित छत्र थापाले भने । आगलागीबाट पीडितहरूको तथ्यांक संकलन गरी उनीहरूलाई राहत र पुन:स्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र संघ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।
शुक्रबार आगलागी भएपछि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरूका गुनासा सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी दिएको छ ।







