काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को अवरोध खुलाउने विषयमा सरकारको नेतृत्व गरेको दल नेकपा एमालेको भूमिका खोजेको छ ।
१३ जेठदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने सम्बन्धमा सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादी पार्टी निरन्तर छलफलमा छन् ।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार अवरुद्ध संसद् खुलाउने विषयमा एमालेले पहल लिएको छैन । बरु नेपाली काँग्रेसले पहल लिइरहेको उनको भनाइ छ ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले सदनको गतिरोध खुलाउने विषयमा एमालेबाट अहिलेसम्म आधिकारिक एप्रोच नआएको बताए ।
पत्रकारले वाग्लेलाई ‘सदनको गतिरोध खुलाउने छलफलमा एमाले देखिएन भनेर सोधेका थिए । जवाफमा वाग्लेले भने,‘ एमालेलाई त खोज्दै छु म पनि । बाहिर घाम लागिरहेको छ ।’ एमालेको भूमिका अन्य ठुला दलले खोज्नुपर्ने उनको आग्रह छ ।
प्रतिपक्ष दलबाट अवरोध हुँदै आएको संसद् खुलाउने विषयमा सत्ता घटक दल काँग्रेसले भने दुई पटक बोलाएर आफूहरूसँग छलफल गरेको उनले बताए ।
उनले भने, ‘सायद उहाँहरू सत्तारुढ दलभित्रै कुरा गरिराख्नुभएको होला । या यो गृहमन्त्री काँग्रेसकै हुनुभयो, काँग्रेसले नै ठुलो दलको हिसाबले पहलकदमी गर्नू भनेको पनि हुनसक्छ । निम्तो नपाएको ठाउँमा हामी जाने गरेको छैनौँ ।’







