रासस । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।
घाइतेहरूमा बालबालिका पनि परेका छन् ।युद्ध सुरु भएको तीन वर्ष बितिसक्दा पनि रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको छ ।
उसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ ।
खार्किभ सहर, जुन रुसको सिमानाबाट झन्डै ३० किलोमिटर टाढा छ, बारम्बार आक्रमणको केन्द्र बन्दै आएको छ।
रातभर १७ पटक आक्रमण
खार्किभका नगर प्रमुख इगोर तेरेखोभले जानकारी गराउँदै भने, “यस रात दुई वटा क्षेत्रमा १७ पटक आक्रमण भएको छ ।”
प्रान्तीय प्रमुख ओलेग सिनेगुबोभले तीन जनाको मृत्यु भएको पुष्टि गरे । घटनास्थलमा रहेका पत्रकारहरूले जलिरहेका सवारी साधन, क्षतिग्रस्त भवनहरू र बाटोभरि छरिएका टुक्रा देखेका छन् ।
स्थानीय बासिन्दा ओलेना खोरुजेभाले आफ्ना दुई सन्तानसहित झ्यालबाट टाढा भागेर भित्ताको छेउमा लुकिएको बताए।‘सानो छोराले जमिनमा लम्पसार परेर टाउको छोपेको थियो, म उसलाई ढाकेर बसेको थिएँ’ उनले भने ।







