काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई पदमुक्त गर्न माग गर्दै पार्टीमा ज्ञापन पत्र बुझाइएको छ ।
तरुण दलकै असन्तुष्ट केन्द्रीय सदस्यहरूले मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत अनुशासन समितिलाई पत्र बुझाएका हुन् ।
तरुण दलका अध्यक्ष गुरुङले सस्तो लोकप्रियताका लागि कार्यालय भवन बनाउनका लागि बजेट विनियोजन विषयलाई प्रचार गरेको असन्तुष्ट पक्षले जनाएको छ ।
गुरुङको कार्यले सिंगो पार्टी, सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री प्रकाशमान सिंह आलोचित हुने अवस्था बनेको पत्रमा उल्लेख गरिएको छ ।
तरुण दलको भवनका लागि सहरी विकास मन्त्रालयले ३ करोड रकम बजेट विनियोजन गरेको जानकारी गराउँदै गुरुङले गत शनिबार सभापति देउवा र उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिएका थिए ।
एउटा व्यक्तिले आफ्नो व्यक्तिगत लोकप्रियताको लोभमा प्रचारमुखी बन्दा आज प्रत्येक सञ्चार माध्यमको समाचारको हेडलाइन बनिरहेको छ । सामाजिक सञ्जाल भरि हाम्रो नेता र मन्त्रीलाई आलोचना र गालीको वर्षा भइरहेको छ,’ अनुशासन समितिलाई लेखिएको पत्रमा भनिएको छ ।
तीनबर्ष सम्म महाधिवेशन गर्न नसकेर गुरुङ असक्षम साबित भएको असन्तुष्ट पक्षले जनाएको छ । अध्यक्षको अपरिपक्वताको सिंगो संगठन र पार्टी प्रति युवा सँगै आम नागरिकहरूको वितृष्णा बढ्दै गएको पत्रमा लेखिएको छ ।
संगठनको विधि र पद्धति मिच्दै अनुशासनहीन कार्य गरेको, सामान्य नेतृत्वको क्षमता नरहेको, संगठन दिनानुदिन कमजोर बनाएको लगायतका कारण देखाउँदै पदमुक्त गर्न माग गरिएको छ ।
गुरुङलाई हटाउन माग गरेर पत्र लेख्नेहरूमा तरुण दलका केन्द्रीय सदस्यहरू रोजन राई, मनिष सिजापति, मनोजकुमार कटुवाल, चन्द्र सुन्दर खेवाङ, सतेन्द्रसिंह ठकुरी, सिंहविक्रम पाण्डे र रोहित लामा छन् ।







