काठमाडौँ। वरिष्ठ सहसचिव खगेन्द्रप्रसाद सुवेदी सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन डटकमको सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले सुवेदीसहित डण्डुराज घिमिरे र कृष्णप्रसाद काप्रीको नाम सचिव पदका लागि सिफारिस गरेको थियो। सिफारिसमा दोस्रो नम्बरमा रहेका सुवेदीलाई मन्त्रिपरिषद्ले सचिवमा बढुवा गरेको हो। हाल लोक सेवा आयोगमा कार्यरत सुवेदीको पदस्थापन भने तोकिएको छैन।
महालेखा नियन्त्रक रघुराम विष्टको अनिवार्य अवकाशपछि रिक्त सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरिएको थियो।
पहिलो नम्बरमा सिफारिस भएका घिमिरे हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् भने सुवेदी लोक सेवा आयोगमा र काप्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक छन्।
सुवेदी ५८ वर्षे उमेर हदका कारण आगामी भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। यही कारण उनलाई बढुवा दिइएको बताइन्छ।







