काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका कार भएका हाल काठमाडौँ बस्ने १९ वर्षीय दर्शन खड्का र गोरखा धार्चे गाउँपालिका घर भएका हाल तारकेश्वर नगरपालिकामा बस्ने ३७ वर्षीय सरेश गुरुङ रहेका छन् ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई बुधबार पक्राउ गरेको हो भने सरेशलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो ।
दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रुपैयाँ लिएको सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







