काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिकाले ‘क’ वर्गका अपांगहरुलाई घरमै नि:शुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गर्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले ‘क’ वर्गका अपांगहरुको लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने बताएका हुन् ।
‘क’ वर्गका अपांगहरु हिँडडुल गर्न नसक्ने भएको र स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेकोले घरमै स्वास्थ्य सेवा दिने नीति गाउँपालिकाले लिएको छ । त्यसका लागि महिनामा न्यूनतम एक पटक स्वास्थ्यकर्मी लक्षित वर्गका घरमा पठाइने र आवश्यक परे अन्य समयमा पनि स्वास्थ्यकर्मी अपांगको घरमा पठाउने उनले बताए ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको लागि पनि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने तथा गाउँपालिका केन्द्रमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।







