काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद किरणकुमार शाहले बजेटले कृषिलाई उपेक्षा गरेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा सांसद शाहले कृषि अनुदान वृद्धि गरी कृषि उत्पादन प्रवर्द्धनमा बजेटले ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन्।
उनले हरित पूर्वाधार, हरित ऊर्जा, युवालक्षित कार्यक्रम, वन संरक्षणलाई ध्यान दिन माग गरे । साथै उनले किसानका लागि अनुदान, कृषिको आधुनिकीकरण, पशुपालनको व्यवसायीकरण तथा पशुपक्षीको उपचार वडास्तरमा व्यवस्था सरकारको ध्यानाकर्षण गराए ।
नेपाली काँग्रेसका सांसद नागिना यादवले कानुन मन्त्रालयको बजेट अत्यन्तै कम भएको र यसले कानुन निर्माण र सुशासन प्रवर्द्धनमा असर पुग्ने धारणा राखिन् । उनले संघीयताको कार्यान्वयन, विधिको शासन र सुशासन प्रवर्द्धन गर्न पर्याप्त बजेट जरुरी भएको उल्लेख गरिन्।
जनमत पार्टीका सांसद अब्दुल खाँनले बजेटले कृषि र किसानलाई नसमेटेको जिकिर गरे । उनले कृषि क्षेत्रको विकास, किसानलाई समयमा मलखादको व्यवस्था गर्न जरुरी भएको उल्लेख गरे । उनले किसान कार्ड, चक्लाबन्दी, सिँचाइको व्यवस्था गरी कृषि उत्पादन प्रवर्द्धनमा ध्यान दिन आग्रह गरे।
प्रतिनिधि सभाको आजको बैठकले पूर्वमन्त्री समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।
बैठकले स्व शास्त्रीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाका सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरेका थिए ।
विक्रम संवत् १९९३ मा अर्घाखाँची जिल्लामा जन्मनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउद्योगमन्त्री शास्त्रीको यही असार २ गते निधन भएको थियो ।
नेपाली कांग्रेसकातर्फबाट २०४८ र ०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट दुवै पटक उहाँ निर्वाचित भएका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही असार ६ गते बिहान ११ बजे बस्नेछ ।







