काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरूलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने उल्लेख गरे ।
नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्ने कुरा राम्रो नभएको उनको भनाइ थियो।
हिम्मत र शाहस भए ब्रिटिश गोरखा भर्ती बन्द गर्न उनले चुनौती दिए। नत्र भने आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको उनले बताए।







