काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सदस्यहरूले बोल्ने क्रम आजदेखि सकिएको छ ।
सभाको आजको बैठकबाट युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय र राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकहरूमाथि छलफलमा सांसदहरूको बोल्ने क्रम सकिएको हो ।
त्यसअघि, आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसद् सचिवालयमा सांसद समन्वय शाखा स्थापना गर्न सुझाव प्रस्तुत गरे । उनले सांसदहरुले जनताका आवश्यकता र योजनाका लागि मन्त्रालय धाउने प्रवृत्तिको अन्त्य गर्दै उक्त शाखामा बुझाउन सक्ने धारणा राखे ।
नेपाली काँग्रेसका सांसद सीता गुरुङले बजेट महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री नबनेको टिप्पणी गरिन्। उनले आगामी बजेटले सातै प्रदेशमा घरेलु हिंसा वा हिंसा पीडितहरूका लागि सेवा केन्द्र ‘सेफ हाउस’ बनाउने व्यवस्था गर्न माग गरिन्।
अब प्रतिनिधि सभाको अर्को बैठक यही असार ९ गते भोली बिहान ११ बजे बस्नेछ । सो बैठकमा यस विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि उठेको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।







