काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच विपद् प्रतिकार्य तथा प्राविधिक सहयोगका विषयमा छलफल भएको छ ।
मङ्गलबार भएको शिष्टाचार भेटमा उनीहरूबीच विपद् व्यवस्थापन, विपद् पीडित पहिचान (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन-डीभीआई) तथा त्यसका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल भएको नेपाल प्रहरीले जनाएको छ ।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् ।
उनले विपद् प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायका लागि अमेरिकी सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।






