काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिहार राज्य, बेतिया जिल्ला घर भई हाल सर्लाहीको सुनलपडी बस्दै आएका २० वर्षीय अमरनाथ कुमार रहेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरो टोलीले कुमारलाई ६ असारमा धादिङको धुनिवेशी नगरपालिका–८, खानी खोलाबाट पक्राउ गरेको हो।
ब्युरोका अनुसार आरोपी कुमारले पीडित महिलासँग फेसबुकमा साथी बनी मेसेन्जरमा कुराकानी गरेका थिए। सोही क्रममा उनले पीडितको अश्लील तस्बिर तथा भिडिओ पीडितलाई थाहै नदिई स्क्रिन रेकर्ड गरी राखेका थिए। पछि तिनै तस्बिर र भिडियोलाई फेक फेसबुक अकाउन्टमार्फत पीडितका परिवारका सदस्यहरूलाई पठाई चरित्रहत्या गरेको ब्युरोले जनाएको छ।
हाल कुमारलाई जिल्ला अदालत, काठमाडौँबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ ।







