काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘हामीले आर्जन गरेको ज्ञानलाई जेन-जी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने महत्त्वपूर्ण चुनौती रहेको छ । हाम्रा पुर्खाहरूले आर्जन गरेका ज्ञान, हामीले उत्पादन गरेका ज्ञान र अहिलेको पुस्तालाई हाम्रो ज्ञानको सेतु कहाँ जोड्ने हो ? नेपाल प्रज्ञा प्रतिष्ठानले के गर्ने हो ? यसको लागि गम्भीर बहस र विमर्श गर्नुपर्ने आवश्यकता आइसकेको छ ।
अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ताले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
‘जेन–जीको टिप्पणीलाई आधार मान्ने हो भने हामीले त ती पुस्तालाई डिप्रेसनको सिकार मात्र मानिरहेका रहेछौँ । दिएको त केही पनि छैनौँ । अहिलेको जेनजी लाई हामीले कस्तो पाठ्यक्रम दिइरहेका छौँ ? अहिलेको ललितकला कहाँ छ, संगितकला कहाँ छ ? अहिलेको साहित्य कस्तो हुनुपर्ने ? यो हाम्रो र राज्यको दायित्व हैन ?’, उनले भने ।
अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम र कला-साहित्यको अवस्था समेतप्रति प्रश्न उठाउँदै राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने उनले बताएका छन् ।







