डोटी । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
डोटी जिल्लालाई बिहीबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
पूर्ण खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले सिलगढीमा आयोजित एक समारोहका बीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि जिल्लाका नौ वटै पालिकालाई यसअघिनै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।
जिल्लाका नियमित खोप लगाउने जन्मेदेखि १५ महिनासम्मका ३ हजार ४ सय ५३ बालबालिकाहरूलाई पूर्ण रूपमा नियमित खोप लगाए पछि जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको सलामीले बताए।
जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या १० हजार ४ सय १५ जना रहेको छ। त्यसमध्ये खोपको शून्य डोज लगाउन छुटेका ६ जना र आंशिक खोप लगाउन छुटेका एक सय १२ जना बालबालिकाहरूको खोजी गरेर खोप लगाइएको स्वास्थ्य कार्यालय डोटीका खोप संयोजक डिल्लीरमण जोशीले बताए।
डोटी जिल्लालाई पहिलो पटक २०७५ जेठ १९ गतेका दिन पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो।







