काठमाडौँ। चितवनमा सञ्चालन भएकामध्ये अधिकांश शैक्षिक परामर्शदाता तथा भाषा प्रशिक्षणको रूपमा काम गर्दै आएका संस्थाहरूले कानून मिचेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालन भएका १११ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थामध्ये १५ संस्था दर्ताविना सञ्चालन भएको जनाएको हो । त्यस्तै ५० वटा संस्थाले दर्ता गरे पनि कागजात पूरा नबुझाई शैक्षिक परामर्शदाताका रूपमा विदेश पठाउने काम गर्दै आएको पाइएको छ ।
चितवनमा अवैधानिक रूपमा सञ्चालित यस्ता संस्थाहरूले मानिसहरूलाई ठगी गरेको घटना बढ्दै गएपछि जिल्लामा सञ्चालित शैक्षिक परामर्श दिने तथा भाषा सञ्चालन गर्ने संस्थालाई जिल्ला प्रशासन कार्यालयले सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो ।
सोही सूचनाका आधारमा प्रशासनमा सम्पर्क गरेकामध्ये ४६ वटा कन्सल्टेन्सीले मात्रै दर्ता तथा कागजातको वैधानिक प्रक्रिया पूरा गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले जनाएका छन् ।
उनले आज शैक्षिक परामर्शदाता संस्थाको अवस्थाबारे अर्को सूचना जारी गरी असार २२ गतेभित्र सबै कागजात बुझाउन र मापदण्डमा रहेर काम गर्न ४६ वटा कन्सल्टेन्सीलाई निर्देशन दिएका छन् ।
दर्ता नै नगरी विदेश पठाउने धन्दा गरिरहेका अवैधानिक कन्सल्टेन्सीलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरिसकेको र बाँकी करसम्बन्धी कारबाहीको लागि कर कार्यालयबाट अनुसन्धान हुने पनि जनाइएको छ ।







