काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरका छोरा जनक सिंह धामीले जीवित व्यक्तिलाई मृत घोषणा गरी बैंक खाता नवीकरण गर्ने प्रयास गरेका छन्। पालिका प्रमुख विजय सिंह धामीका कान्छा छोरा जनकले जिउँदो व्यक्तिहरूलाई मृत देखाएर बैंक खाता सञ्चालन गर्ने योजना बनाएको खुल्न आएको हो।
शैल्यशिखर नगरपालिका–६ मा रहेको ‘मालिकार्जुन अगुवा कृषक समूह’ का अध्यक्ष जनक नै हुन्। यस समूहका लागि वडागत कृषि कार्यक्रमअन्तर्गत नगरपालिकाबाट दुई लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। ओखरको बोट खरिद गरेर कृषकलाई वितरण गर्ने उद्देश्यले उक्त रकम छुट्याइएको वडा नं. ६ का वडाध्यक्ष जगदीश धामीले बताए।
उनका अनुसार, ‘‘बोट खरिदपछि समूहभित्र विवाद भएको रहेछ। त्यसपछि कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामी रकम भुक्तानीका लागि चेकमा हस्ताक्षर गर्न तयार भएनन्।’’ रकम भुक्तानी नभएपछि अध्यक्ष जनकसिंह धामी र शैल्यशिखर नगरपालिकाका कृषि शाखा प्रमुख दिपक राज विष्टको मिलेमतोमा कोषाध्यक्ष जानकी र सचिव मञ्जुलाई मृत घोषणा गरिएको भेटिएको हो।

कृषि शाखा प्रमुख विष्टले ग्लोबल आइएमई बैंक, गोकुलेश्वर शाखालाई खाता नवीकरणका लागि पत्र पठाउँदै भनेका छन्, ‘समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको हुँदा अब अध्यक्ष जनकसिंह धामी र नयाँ सचिव बसन्ती बोहराको हस्ताक्षरबाट खाता सञ्चालन गर्न अनुमति दिनुहुन सिफारिसका साथै अनुरोध गर्दछु।’ तर, बैंकले उक्त नवीकरणको पत्र प्राप्त गरेपछि सचिव र कोषाध्यक्ष दुवैलाई सम्पर्क गर्दा उनीहरू जीवितै रहेको खुलेको हो।
पालिकाले यस विषयमा छलफल गर्न भोलिको मिति तोकेको र पालिकाबाट कुनै निर्णय नभए जिल्ला प्रशासन कार्यालय जाने तयारी भएको वडाध्यक्षले प्रशासनलाई जानकारी दिए । समूहका अध्यक्ष तथा मेयरका छोरा धामी र कृषि शाखा प्रमुख विष्टसँग सम्पर्क गर्दा उनीहरूले फोन उठाएनन् ।
नगरपालिकाका सूचना अधिकारी भोजराज भट्टले भने जीवित व्यक्तिलाई मृत्यु भएको भनेर पत्राचार गरिएको कुरा सामाजिक सञ्जालमार्फत थाहा पाएको र यसबारे कृषि शाखाका प्रमुखलाई स्पष्टीकरण सोध्ने तयारी भएको बताए। ‘‘बुधबार स्थानीय बिदा भएकाले भोलि (बिहीबार) पालिकामा छलफल हुनेछ,’’ भट्टले भने, ‘‘छलफलपछि थप निर्णय गरिनेछ।’’







