काठमाडौँ । प्युठानका एकल महिलाले ‘रातो अबिर अभियान’ थालेका छन् ।
सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन् ।
श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै उनीहरूले रातो अबिर अभियान चलाएका हुन् ।
रातो रंग श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु(संस्कार तोड्न महिलाहरू जुर्मुराएका छन् । कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरूलाई स्वतन्त्रता हुनुपर्ने सहभागीहरूले बताए ।
एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्युठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरूले आफ्ना दुःख, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । गाडी चढ्दा समेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दुःखेसो उनीहरूले पोखे ।
वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान् गुमाएर एकल जीवन बिताइरहेकी नौबहिनी गाउँपालिकाकी एक महिलाले गहभरी आँसु पार्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडि दुः ख पोखिन् ।
समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरूले पनि महिलाहरूको संवैधानिक हक कुण्ठित गरिरहेको रातो अबिर’ अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरूले उद्घोष गरेका छन् ।
एकल महिलाको उक्त अभियान अब प्युठानका ६४ वडा र सिँगो लुम्बिनी प्रदेश भरी पुर्याउनुपर्ने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले बताए । लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारीलाई एकल महिलाका समस्यालाई प्रो-एक्टिभ भएर चासो दिन र हिंसा हुन नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।
कार्यक्रममा सहभागीहरू २१ वर्षमै पति बितेकादेखि ६० वर्षसम्मका थिए । आफूजस्तै थुप्रै महिला भेट्न सबै खुसी भएका थिए ।







