काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानुनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद यादवले अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिइन् ।
यादवका अनुसार रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका-४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको छ । उनले गैरकानुनी रूपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गरिन् ।
‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका कायरतापूर्ण हमलाबाट अदालतको आदेश विपरीत कवाडी व्यवसायीहरूमाथि हमला भएको छ’ उनले भनिन् ।
उनले थपिन्, ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । साथै गैरकानुनी हमलामा संलग्न अपराधीहरूलाई कारबाही गर्नको लागि विशेष आग्रह पनि गर्दछौँ ।’
उनले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको समेत ध्यानाकर्षण गराइन् ।







