हङकङ । नेपाली महावाणिज्यदूतावास, हङकङले नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि ‘नेपाल पर्यटन प्रवर्द्धन सेमिनार २०२५’ आयोजना गरेको छ। हङकङस्थित पर्यटन क्षेत्रका प्रतिनिधिहरूसँग नेपालका पर्यटन उत्पादनबारे जानकारी आदानप्रदान गर्ने र हङकङका पर्यटकका प्राथमिकताहरू बुझ्ने उद्देश्यले मंगलबार हङकङमा सेमिनार सम्पन्न भएको हो।
कार्यक्रमका विशेष अतिथि हङकङ पोलिटेक्निक विश्वविद्यालयअन्तर्गत होटेल र पर्यटन व्यवस्थापन विद्यालयका डिन प्रोफेसर के चोनले नेपालका धेरैपटकका भ्रमण स्मरण गर्दै नेपालको अनुपम प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रशंसा गरे। उनले नेपालमा पर्यटन पूर्वाधार सुदृढीकरण र नवप्रवर्तन आवश्यक रहेकोमा जोड दिए।
‘हङकङका पर्यटकका प्राथमिकताअनुसार नेपाल पर्यटन उत्पादनलाई कसरी मिलाउन सकिन्छ ?’ भन्ने विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो। उक्त छलफलमा पर्यटन र आतिथ्य व्यवसाय क्षेत्रका विज्ञहरू प्रोफेसर क्याथरिन चेउङ, प्रोफेसर एडा लो र प्रोफेसर रोशिस कृष्ण श्रेष्ठले सहभागिता जनाएका थिए।

वाणिज्यदूत सतीश गुरुङको संयोजनमा भएको छलफलमा हङकङका पर्यटकका रोजाइ, पर्यटन उद्यमशीलतामा कृत्रिम बुद्धिमत्ता र डिजिटल प्लेटफर्मको उपयोग तथा परम्परागतभन्दा बाहेकका पर्यटन उत्पादनहरूमा विविधीकरणका विषयमा विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले नेपालमा पर्यटन क्षेत्रका अवसरहरूबारे जानकारी गराउँदै नेपाली डायस्पोराले नेपाल पर्यटन प्रवर्द्धन र लगानीमा सक्दो योगदान गर्नुपर्ने धारणा राखे। नेपाल एयरलाइन्स हङकङका कन्ट्री म्यानेजर मिगी केसी र हङकङका लागि नेपाल पर्यटन प्रवर्द्धक प्रकाश पुनले पनि छोटो प्रस्तुतिकरण गरेका थिए।
सेमिनारमा हङकङका स्थानीय ट्राभल, फुड एन्ड बेभरिज क्षेत्रका प्रतिनिधिहरू, शैक्षिक क्षेत्रका विज्ञहरू र स्थानीय समुदायका अगुवाहरूको समेत उपस्थिति रहेको महावाणिज्यदूतावासले जनाएको छ।







