काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायूसहितको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही मानिस भेटिएका छैनन् ।
स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका हुन् ।
१५ मिनेटको दूरीमा रहेका छिमेकीहरूले पनि शुक्रबारदेखि नदेखेको बताएका सापकोटाले जनाए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रविन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही नभेटिएको जनाएका छन् ।
वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जलेको अवस्थामा छ । साथै भाँडाहरू अस्तव्यस्त भेटिएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ ।
अल्पसंख्यक लोपोन्मुख हायु जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास गरिराखिएको अध्यक्ष श्रेष्ठले बताए ।
सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन भएका हायु परिवारको खोजतलास भइरहेको जनाए । अनकन्टारमा घर रहेकाले छिमेकीहरूको समेत आवतजावत कम हुने गरेको पाइएको छ ।
हायु जातिलाई सरकारले लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत गरेको छ । २०७८ को जनगणनाअनुसार हायु जातिको जनसंख्या ३ हजार ६९ रहेको छ ।







