काठमाडौँ । तीर्थराज चिलुवालले आज राजश्व अनुसन्धान विभागको महानिर्देशकको पदभार ग्रहण गरेका छन्। तीन दिनअघि मात्र उनलाई आन्तरिक राजश्व विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको थियो। त्यसको केही समयमै उनलाई विभागको प्रमुख बनाइएको हो।
राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चण्डीप्रसाद घिमिरे अनिवार्य अवकाशमा गएसँगै विभाग नेतृत्वविहीन अवस्थामा रहेको थियो।
देशको राजश्व प्रणाली र वित्तीय अनुशासन जस्तो संवेदनशील पक्षको निगरानी गर्ने यस विभागलाई निकै महत्वपूर्ण मानिन्छ, तर छिटो छिटो नेतृत्व फेरिने र विवादमा मुछिने कारणले यो विभागले पछिल्लो समय गति लिन सकिरहेको छैन।
हालैका दिनहरूमा विभागको कामप्रति प्रश्नहरू समेत उठ्दै आएका छन्। उद्देश्यअनुसार काम गर्न नसकेको र केही समयदेखि नेतृत्वको निहित स्वार्थअनुसार निर्णयहरू भएको आरोप पनि लाग्दै आएको छ। यसले विभागको प्रभावकारिता र विश्वसनीयतामा असर पारेको अधिकारीहरू बताउँछन्।
देश आर्थिक सङ्कटको अवस्थामा गुज्रिरहेको वर्तमान परिस्थितिमा राजश्व अनुसन्धान विभागको भूमिका झन् महत्वपूर्ण बन्न पुगेको छ। आर्थिक अपारदर्शिता, ठूला कर छलिका घटना र संस्थागत अनुशासनको आवश्यकता उच्च बनेको पृष्ठभूमिमा चिलुवालको नेतृत्वबाट विभागले कस्तो गति लिन्छ भन्नेबारे चासो देखिएको छ।
नयाँ महानिर्देशक चिलुवाल अर्थतन्त्रको लामो अनुभव बोकेका अधिकारीका रूपमा चिनिन्छन्। आन्तरिक राजश्व विभागमा उपमहानिर्देशक रहँदा विभागीय प्रशासन, राजश्व संकलन र अनुसन्धानसँग सम्बन्धित काममा अनुभवी चिलुवालले राजश्व अनुसन्धानमा भने कस्तो प्रभाव पार्न सक्छन्, त्यसबाट उनको मूल्यांकन गर्न सहज हुने एक सचिव बताउँछन्।
अनुसन्धान विभाग जस्तो संवेदनशील संस्थाको नेतृत्वले सरकारको इच्छाशक्ति र संस्थागत स्वतन्त्रता दुवै आवश्यक पर्ने भएकाले उनको कार्यशैली कस्तो हुन्छ भन्नेबारे केही दिन पर्खनुपर्ने देखिन्छ।
अबको नेतृत्वले भ्रष्टाचार, कर छली र वित्तीय अपारदर्शिताका विरुद्ध कठोर कदम चाल्ने अपेक्षा गर्नुपर्ने आवश्यकता छ। विभागलाई निष्पक्ष र प्रभावकारी बनाउँदै राजश्व प्रणालीमा विश्वास बढाउन सक्नुपर्छ भन्ने आम धारणा पनि छ।
राजश्व अनुसन्धान विभाग पुनः गतिशील बन्नेछ कि विगतकै जस्तो आरोप र आलोचनामा सीमित रहनेछ भन्ने सवालले अब चिलुवालको नेतृत्वमा उत्तर खोज्दैछ।







