काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्ट र छिमेकी राष्ट्र चीनको जियान्सी प्रान्तमा रहेको इस्ट-चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक हुई चेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज छलफल भएको छ ।
सिंहदरवारमा भएको छलफलमा उक्त विश्वविद्यालयको ‘स्कुल अफ जिओफिजिक्स एण्ड स्पेस एक्प्लोरेसन’सँग सम्बद्ध प्राध्यापक हुईले भौगर्भिक प्रकोपको अनुगमन, पहिचान, पूर्व सूचना प्रणाली र रोकथामका बारेमा विश्वविद्यालयले गरिरहेका काम र त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीबारे जानकारी गराएका थिए ।
कार्यकारी प्रमुख भट्टले गत महिनाको रसुवा बाढी एवं विगत वर्षमा तिब्बत हुँदै नेपाल प्रवेश गर्ने नदीमा आएका आकस्मिक बाढीले पुर्याएको ठूलो क्षतिका विषयमा जानकारी गराएका थिए ।
उनले नेपाल र चीनबीच ‘रियल-टाइम डाटा’ को आदानप्रदानलगायत पूर्व सूचना प्रणाली अत्यावश्यक भइसकेको उल्लेख गर्दै सहकार्यका लागि प्राधिकरण तयार रहेको बताए ।
चिनियाँ प्रतिनिधिमण्डल पनि उक्त विषयप्रति सकारात्मक रहेको प्राधिकरणले जनाएको छ ।







