काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजामती सेवा दिवस–२०८२ को अवसरमा राष्ट्रसेवक निजामती कर्मचारीहरूबीच खुला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता “व्यावसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन” भन्ने नारामा आधारित हुनेछ।
कार्यालयद्वारा जारी सूचनाअनुसार इच्छुक कर्मचारीहरूले मौलिक, सृजनात्मक, अप्रकाशित र अन्यत्र कुनै प्रतियोगितामा प्रस्तुत नगरिएको कविता पठाउनुपर्नेछ। कविता अनिवार्य रूपमा नेपाली भाषामा युनिकोड फन्टमा लेखिएको हुनुपर्नेछ।
कविता पठाउने अन्तिम मिति २०८२ भाद्र १३ गते शुक्रबार कार्यालय समयभित्र तोकिएको छ। इच्छुकले कविता निजामती सेवा दिवस–२०८२, अतिरिक्त क्रियाकलाप उपसमिति सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं मा वा nijamatisewadiwas2082@gmail.com मा पठाउन सक्नेछन्।
प्रतियोगितामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारी सहभागी हुन पाउनेछन्। कवितासँगै आफ्नो नाम, थर, पद, कर्मचारी संकेत नम्बर, कार्यरत कार्यालय, सम्पर्क नम्बर र पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
छनौटमा परेका उत्कृष्ट २० कविताहरूको वाचन कार्यक्रम २०८२ भाद्र १९ गते दिउँसो १ बजे सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा हुनेछ। निर्णायक मण्डलले मूल्याङ्कनका आधार निर्धारण गर्नेछ।
प्रतियोगिताबाट उत्कृष्ट तीन कवितासहित सान्त्वना दुई कवितालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमेश कुमार राई (मोबाइल नं. ९८४२०३१६५५) मा सम्पर्क गर्न सकिनेछ।







