काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गरेर अगाडी बढ्नुपर्ने बताएकी छन् ।
महिलाहरूकै नेतृत्व र व्यवस्थापनमा सञ्चालन भएको अक्षयकोष बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभाको काठमाडौँमा उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई सामना गरेर मात्रै सहकारीलाई दिगो र विश्वासिलो बनाउन सकिने बताइन् ।
सहकारी भनेको केवल वित्तीय संस्था मात्र नभई आत्मनिर्भरता, सहकार्य र साझा समृद्धिको आधार स्तम्भ पनि भएको उपाध्यक्ष घिमिरेको भनाई थियो । ‘सहकारी क्षेत्र पूर्णतया: समस्यामुक्त छैन । पछिल्ला केही वर्षमा सहकारी क्षेत्रमा चुनौतीहरू गहिरिँदै गएको देखिन्छ’, उनले भनेकी छन्, ‘तर, चुनौतीहरूलाई समाधान नगरी हामीले सहकारीलाई दिगो र विश्वासिलो बनाउन सक्दैनौँ ।’
सहकारी आन्दोलन नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा एउटा शक्तिशाली माध्यम भएको बताउँदै उपाध्यक्ष घिमिरेले पछिल्लो समय सहकारीले सदस्यको बचतलाई उत्पादनमुखी क्षेत्रमा भन्दा पनि छिटो नाफा देखिने तर उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरिन् ।
यस्तो प्रवृत्तिले सहकारीलाई बदनाम र सहकारी अभियानलाई नै विफल बनाउने अवस्था आइपुगेकोले सहकारी विभाग, स्थानीय तह र अन्य नियामक निकायबीच आवश्यक समन्वय र सूचनाको आदान–प्रदान गरेर समस्या समाधान गर्न आग्रह पनि गरिन् ।
विशेष गरी महिलाले नेतृत्व गरेका सहकारीहरूले समुदायलाई आत्मनिर्भर बनाउन, सीप विकास गर्न र महिला सशक्तीकरणमा अपूर्व योगदान दिएको चर्चा गर्दै अहिले देखिएको सहकारी क्षेत्रको समस्यामा पनि अपवाद बाहेक महिलाको नेतृत्वमा सञ्चालित सहकारीलाई कमै प्रश्न उठेको बताइन् ।
‘महिला सहकारीले वित्तीय पारदर्शिता, विश्वसनीयता र अनुशासनमा पनि धेरै सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्’, उनले भनिन्, ‘महिलाको धैर्यता, अनुशासन र आपसी विश्वासका कारण धेरै सहकारीहरू स्थायित्व र पारदर्शिताको दृष्टिले अनुकरणीय बन्न सफल भएका हुन्।’
उपाध्यक्ष घिमिरेले सहकारी क्षेत्रलाई संसदले आवश्यक कानून बनाउन, नीतिगत मार्ग निर्देशन गर्न र कार्यान्वयनमा निरन्तर अनुगमन गर्ने भूमिका निर्वाह गर्ने विश्वास पनि दिलाइन् ।







