काठमाडौँ। पछिल्लो समय यात्रुवाहक विद्युतीय सवारी साधन इभीमै लागुऔषध गाँजा ओसारपसार भइरहेको पाइएको छ ।
मकवानपुर प्रहरीले आइतबार दुई वटा इभीमा ठूलो मात्रामा लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरपछि यस्तो खुलासा भएको हो ।
प्रहरीले बा प्र०१-००२ज ६५४९ नम्बरको इभी गाडीमा राखेर हेटौँडा ल्याइएको लागुऔषध गाँजा मकवानपुरको बसामाडी लेवटमा बरामद गरेको हो ।
प्रहरीले इभी चालक काभ्रे, पाँचखाल –८ का २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सविन तामाङ र दोलखा शैलुङ-८ का २२ वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएको छ । गाडीमा १ सय १२ किलो ७९० ग्राम गाँजा फेला परेको हो । उनीहरूलाई आइतबार नै अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।
यस्तै, आइतबार नै प्रहरीले बसामाडीमै हेटौँडातर्फ आइरहेको बाप्र०६-००१ ज ०५०३ नम्बरको इभी गाडीमा २६ किलो १० ग्राह गाँजा बरामद भएको छ । गाँजासहित मकवानपुर, राक्सिराङ-१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दीप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई पनि अदालतबाट म्याद थपेर अनुसन्धान जारी छ ।







