काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कालिकोटले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ८ बजेदेखि सेवा दिन सुरु गरेको छ ।
कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि मंगलवार बिहान ८ बजेदेखि ६ बजेसम्म सेवा दिन सुरु गरेको हो ।
वृद्ध वृद्धा सहजताका लागि अर्को व्यवस्था नहुँदासम्म यो सेवा सुचारु गरेको प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्माले जानकारी दिए ।
प्रजिअ शर्माले भने-‘राष्ट्रिय परिचयपत्र अनिवार्य लागु गरेसँगै कालीकोट जिल्लामा परिचयपत्र सम्बन्धी सेवा लिने सेवाग्राहीहरूको भीड अत्यधिक भएकोले मंगलवारदेखि अर्को व्यवस्था नभएसम्मका लागि सेवा सुरु गरेको हो ।’ नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताका लागि अध्यवधि गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भनेपछि त्यसका लागि प्राय:वृद्ध वृद्धा जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् ।








