क्यापासिटी बिल्डिङ्ग अफ टिभेट इन्स्ट्रक्टर अन इ-लर्निङ इन नेपाल कार्यक्रममा २३ अगष्ट २०२५ देखि ६ सेप्टेम्बर २०२५ (तदनुसार मिति २०८२।५।७ देखि २१) सम्म सहभागी हुन दक्षिण कोरिया भ्रमण गर्ने अवसर प्राप्त भएको थियो । उक्त अवसरले उत्सुकता त जगाउने नै भयो, एसियन टाइगर मध्येको एक टाइगरले छोटो समयमा विकासमा मारेको फड्कोको भित्री कथा जान्न पाउने कारणले । भौतिक विकास र भौतिकवादी संस्कारको सन्तुलन विमानस्थलबाट नै देख्न सकिने थियो, र सो अनुभव गर्न पाईयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सम्बन्धी नयाँ ऐन बन्दै गरेको सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखा प्रमुखको हैसियतमा सहभागीताले सोच्नुपर्ने क्षेत्रहरुको बारेमा निकै ज्ञान र अनुभव प्राप्त गरेको छु । यस अवसरबाट मैले थाहा पाएको कोरियाले विकासमा मार्न सकेको फड्कोको रहस्य यहाँ उल्लेख गर्ने प्रयत्न गरेको छु ।
कोरिया टेकको सेकेन्ड क्याम्पसमा, उद्घाटनको कार्यक्रम थियो । उद्घाटन कार्यक्रमको तामझाम, आसन ग्रहणको पट्यार लाग्दो मन्तव्य, कार्यक्रमको उद्देश्यका बारेमा ठुलाहरुले दिएको भाषण अनि चाकडी शैलीको सहभागीहरुको अपेक्षा सुनेर, देखेर, भोगेर अभ्यस्त भएको म त्यहाँ यी कुनै कुरा नभएको देख्दा, हामी किन यसमा भुलेको हो पत्तो पाउन सकिन । यस्ता कुनै पनि औपचारिकता पुरा नगरी सिधै विषयमा प्रवेश हुने रहेछ। लन्चपछि कोरिया टेकको फस्ट क्याम्पसको भ्रमणमा जाने जानकारी पहिलो सेसनमा गराईएको थियो। फस्ट क्याम्पसमा अहिलेको नयाँ टेक्नोलोजीको बारेमा अध्ययन अध्यापन हुने रहेछ। बस्तु तथा सेवाको प्रभावकारीता कसरी बृद्धि गर्ने भन्ने विषयमा टेक्नोलोजीको प्रयोग, त्यस्ता टेक्नोलोजीको अध्ययन, अनुसन्धान र आविष्कारमा उनिहरुको लगानी र गरेको चमत्कार देखियो । एआई सम्बन्धी अनुसन्धान, अध्ययन, त्यसको शिक्षण सिकाई क्रियाकलापमा प्रयोग र प्रयोगशाला व्यवस्थापन देखियो, हेरियो र हामी कहिले पुगिएला भनेर घोत्लिन बाध्य बनायो ।
योजनावद्ध विकासलाई डोहोर्याउने नेतृत्वको सरकार चलाउने अनुशासित र उद्देश्य उन्मुख कार्यशैली नै सफलताको कडी भएको कुरा प्रोफेसर किम डो ह्याङ, चेयरम्यान, फाइनान्स एण्ड ट्याक्स रिसर्च फोरम बाट जानकारी पाईयो । औद्योगिकीकरण र विश्वव्यापीकरणको सिद्धान्तको व्यवहारिक कार्यान्वयन नै सफलता हासिल गर्ने वाद दक्षिण कोरियाको रहेछ । हाम्रो जस्तो कहाँ कहाँका वादको वकालत गर्ने तर काम नगर्ने वातावरण रहेनछ । वादलाई व्यवहारमा उतार्ने एकमात्र उपाय व्यावहारिक कार्यान्वयन रहेछ । तर वादलाई व्यवहारमा परिणत गर्न सरकारले नेतृत्व गरेको विकासको ढाँचा नै उत्तम हो भन्ने कुरा चरितार्थ गरेको देख्न र बुझ्न सकियो । दक्षिण कोरियाको इतिहास गरिब थियो, नागरिक बाहेक देशसँग कुनै साधनस्रोत थिएन, ऋण माग्दा समेत नपत्याएको थथार्थ प्रोफेसरले बताउनु भयो । इतिहासलाई गाली गरेर होईन, इतिहासबाट पाठ सिकेर अगाडी बढ्नुपर्छ भन्ने भनाईमा निकै भावुकता लुकेको थियो ।
व्यापारिक क्षेत्र र सरकारको सम्बन्ध भनेको सहकार्यात्मक हुनुपर्छ, सरकारले देखाएको बाटो, सरकारले बनाएको पूर्वाधारमा व्यापारिक क्षेत्रले अवसर खोज्नुपर्छ, उत्पादन र बजारीकरणमा दुबै तर्फबाट पर्याप्त ध्यान दिनुपर्छ, व्यावसायिक तथा व्यापारिक भूमिका र राजनीतिक भूमिका अलग अलग राख्नुपर्छ, आपत परेको बेला निजी क्षेत्रलाई सरकारले थाम्नुपर्छ, निजी क्षेत्रले नाफा कमाएको बेला सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ अनि मात्र सहकार्य सम्भव छ भन्ने प्रोफेसरको भनाई निकै मननयोग्य र अर्थ बोकेको थियो । स्रोतसाधन सबैलाई पुग्दैन, स्रोत जुटाउने हो, जुटाउने भनेको विकास साझेदारहरुबाट नै हो तर त्यसरी जुटाएको रकम खर्च कहाँ भयो? चाहि मुख्य कुरा हो । कुनै पनि विकास साझेदारबाट जुटेको रकमबाट विकास गर्दै गर्दा त्यसको नाफा वा घाटाका बारेमा नागरिकलाई बुझाउनुपर्छ, प्रतिफल वितरणको संयन्त्रको बारेमा नागरिकलाई विश्वस्त बनाउन सक्नुपर्छ, विकास साझेदारलाई उसले गरेको सहायताले प्रतिफल दिन्छ भन्नेमा ढुक्क बनाउन सक्नुपर्छ भन्ने भनाई प्रोफेसरको थियो । सहायता ल्याएर सिप सिकाउने, सिपलाई उत्पादनमा जोड्ने र उत्पादनलाई विश्व बजारमा जोड्ने कार्य सरकारले गर्नुपर्छ, अध्ययन अनुसन्धान गर्ने संस्था खोल्ने र त्यस्ता संस्थालाई सोही बमोजिमको कार्य गर्न स्वायत्तता दिने रणनीति सरकारको थियो र सोही रणनीतिको अवलम्बनले कोरिया सफल भएको चित्र प्रोफेसरको थियो । अर्को कुरा कच्चा पदार्थ निर्यात गरेर देश धनि हुँदैन, धनि हुनलाई त्यस्तो कच्चा पदार्थ अन्तिम बस्तुमा परिणत गर्न सक्नुपर्छ, र अन्तिम सत्य भनेको “खाना, नाना र छानामा आत्मनिर्भरता” नभएको अर्थतन्त्र डेगिलो हुँदैन भन्ने प्रोफेसरको भनाई थियो।
नागरिकलाई सीप सिकाउने योजना विनाको विकास योजना काम लाग्दैन भन्ने मत डा. यङ जङ किम, प्रेसिडेन्ट अफ द कोरियन एम्प्लोयमेन्ट इन्फर्मेसन सर्भिस एण्ड डेपुटी मिनिस्टर फर एम्प्लोयमेन्ट पोलिसी, मिनिस्ट्री अफ एम्प्लोयमेन्ट एण्ड लेबर को थियो । उनले राज्य, निजी क्षेत्र र नागरिक तिनै तहबाट जनशक्ति व्यवस्थापनमा काम गर्नुपर्ने बताए । जुन क्षेत्रमा बढी नागरिकको निर्भरता छ, सोही क्षेत्रका नागरिकको जिवन सहज बनाउने गरी सरकारले काम गर्नुपर्छ भन्ने भनाई निकै महत्वपूर्ण लाग्यो । राज्यको नीति निर्माण तहमा बसेका उच्च पदस्थहरुले देश विदेशमा सिकेको सिप र आर्जन गरेको ज्ञान र लिएको अनुभव सबै नागरिक समक्ष पुर्याउनुपर्ने, हरेक नागरिकलाई केही न केही सिप सिकाउनुपर्ने उनको मत थियो । राज्यको मेरुदण्डको रूपमा रहेको सीप के को ? कस्ता नागरिकलाई त्यस्तो सीप सिकाउनुपर्ने हो ? बाँकी रहेका नागरिकलाई के कस्तो सीप सिकाउने हो? सीप सिकेको नागरिक कहाँ के गर्दै छ? लगायतका सूचनामा सरकार अद्यावधिक हुनुपर्ने उनको भनाई थियो । बजार र सीपलाई जोड्ने समस्यालाई चुनौती र अवसरको रूपमा लिएर सोही बमोजिमको नीति कार्यान्वयन गरेको खण्डमा बजारमा रोजगारी सिर्जना गर्न सकिने कुरा उनले बताए । विश्व बजारमा उत्पादन भएका जुनसुकै सामान प्रयोग गर्दा त्यसले मर्मत माग्ने र मर्मत गर्न जनशक्ति आवश्यक पर्ने भएकोले त्यसतर्फ राज्यको ध्यान जानै पर्ने उनको भनाई थियो ।
विश्व घुमेर लिएको ज्ञान र अनुभव तथा सिकेको सीपको प्रयोग देशमा गर्न सके समृद्ध हुने डा. चो ह्युन चा मत थियो । सहयोग लिएर र ल्याएर मस्ती गरियो, विदेश गएर सिकेर फिरेका मानिसले सिकाएनन्, ठुलाले पढेको सिद्धान्त सानालाई सिकाउन सकिएन भने देश बन्दैन भन्ने उनको ज्ञान थियो । टेक्ने आधार शुरुमा सबैको कमजोर नै भएको एतिहास विश्वका अधिकांश मुलुकको समस्या रहेछ । कोरियाली जनतासँग पनि जनता बाहेक केही नभएको उनको पनि भनाई थियो । उनका अनुसार श्रम बजार सबै देशको एउटै हो, श्रमिकलाई सीपयुक्त बानउने, श्रमको सम्मान गर्ने, तालिम दिनुपर्ने, सोही बमोजिमको ज्यालाको प्रबन्ध नै नागरिक र जनता बीचको सम्बन्ध सुमधुर बनाउने उपाय हो । सीप सिकेर विदेशमा काम गरिरहेको जनशक्तिलाई स्वदेश फिराएर आन्तरिक बजारमा रोजगारी प्रदान गर्न सक्नु नै देश समृद्ध बनाउने उपाय रहेछ। नीति कार्यान्वयन भएन भने त्यो नीति होइन, कार्यान्वयनयोग्य नीति बनाउन निकै कठिन हुन्छ, आफ्नो जिम्मेवारी जे हो त्यसलाई पुरा गर्नुपर्छ, अर्कोका कामको बारेमा टिकाटिप्पणीले माथि उकास्दैन भन्ने उनको भनाई निकै चाख लाग्दो थियो। कति गर्ने हो र गर्न सकिन्छ, त्यसको आंकलन र कार्यान्वयन सफलताको शिखरमा पुग्ने कडी हो भन्ने कुरा उनले पनि जर्मनीबाट सिकेर आफ्नो देशमा कार्यान्वयन गरेको हो रे ।
समस्या, समस्याको कारण र समस्याको असर अनुमान गर्न सकिएमा मात्र नीति कार्यान्वयनयोग्य बन्न सक्ने कुरा डा. जिन हो लिम ले बताए । समस्या, कारण र असरको ठीक तरीकाले पहिचान गर्न सकिएन भने सुन चाहिने ठाउँमा नुन र नुन चाहिने ठाउँमा सुनको आपूर्ति भई आपुर्ति श्रृखला भताभुङ्ग हुने उनको भनाई थियो ।
कोरिया पोलिटेक्निक उल्सान क्याम्पसको भ्रमणको क्रममा सीप सिकाउनको लागि बहुप्राविधिक शिक्षालयहरुको स्थापना, त्यस्ता शिक्षालयहरुको फैलावट, साधारण शिक्षा र व्यवसायिक शिक्षालाई जोड्ने पाठ्यक्रम निर्माण र कार्यान्वयन, शिक्षालयहरुमा प्रशिक्षक तथा पूर्वाधारहरुको विकास र विस्तार, शिक्षालयबाट उत्पादित जनशक्तिको व्यवस्थापन, बजारमा आवश्यक सीप र सीपयुक्त जनशक्तिको आपुर्तिको सन्तुलनको योजना निर्माण र व्यवहारिक कार्यान्वयन देखेर चकित नै परियो । शिक्षालयहरुमा अध्ययनको वातावरण, प्रशिक्षकहरुको जागरुकता, विद्यार्थीहरुको सिकाईप्रतिको उत्सुकता, सीप र सिकाई प्रति नागरिकहरुको चासो गज्जवकै थियो । कक्षा कोठा, पाठ्यपुस्तकको व्यवस्थापन, ल्याव लगायतका सुविधाहरु पर्याप्त थिए।
बुसानमा रहेको ह्युमन रिसोर्स डेभलपमेन्ट इन्स्टिच्युटको जनशक्ति व्यवस्थापनको क्षेत्रमा गरेको अध्ययन, अनुसन्धान र सिकाएको सीपको नक्साङ्कन व्यवस्थित थियो । सिकाईको वातावरण गज्जबकै थियो। ल्यावमा आवश्यक कुनै पनि सामानको कमि देखिएन । सिकेको ज्ञानलाई प्रयोगात्मक अभ्यासको आधारमा अभ्यस्त बनाएर मात्रै जनशक्ति बजारमा पठाउने संयन्त्र रहेछ, त्यस्तो संयन्त्रको परिचालनलाई व्यवहारिक बनाउन कुनै कसर नै बाँकी रहन नदिने कोरियनहरुको कार्यनीति रहेछ । शिक्षण शिकाई क्रियाकलापमा एआईको प्रयोगको सम्बन्धमा एलिस ल्यावले लाएको नाटकीय परिवर्तनको बारेमा जान्न पाईयो । एलिस ल्यावले अध्ययन, अनुसन्धान, विद्यालयमा सिकाउने तरीका तथा सोही ल्यावमा सिक्ने र सिकाउने बातावरणको निर्माणको क्षेत्रमा गरेको योगदानको र सरकारले त्यो ल्यावलाई गरेको सहयोग, सहकार्य र लगानी सुनेर छक्क नै परियो । अनि प्रोफेसर किम डो ह्याङ को सरकारले अगुवाई गरेको विकासको सिद्धान्तको कार्यान्वयन भएको रहेछ भन्ने लाग्यो ।
परिवर्तनलाई आत्मसात् गर्न शिक्षा क्षेत्रको रूपान्तरण आवश्यक भएको कुरा प्रोफेसर लिम, जिन हो, पिएचडी मत थियो ।एकै एउटै समस्या बर्षौ रहिरनु नै परिवर्तनको बाधक हो, विश्वव्यापिकरण र उदाकरणले के कस्तो लहर ल्याउँछ र त्यस्तो लहरलाई कसरी आन्तरिकीकरण गर्ने भन्ने कुरा समयमै खोट्याउनु पर्छ, सामाजिक लाभ लिन र उक्त लाभलाई न्यायोचित वितरण गर्न सकिदैन भने त्यो परिवर्तन नै होईन, केवल स्रोत, साधन र समयको सत्यनास हो भन भनाई प्रोफेसरको थियो ।
एआईको जमानामा हामी कसलाई के कसरी किन कहिले पढाउने भन्ने कुराको निर्क्यौल गर्नुपर्ने जी यङ याङ, पिएचडी को थियो । आधारभूत तहदेखि नै विद्यार्थीलाई पढाउने विषयबस्तुलाई भविष्यसँग जुध्न सक्ने तरिकाबाट अगाडी बढाउन सकिएन भने त्यस्तो शिक्षण सिकाई क्रियाकलापले प्रतिफल दिन सक्दैन भन्ने मत उनको थियो।
हामी ज्ञान दिएर आफ्नो आवश्यकता अनुसार प्रयोग गर्नुपर्छ, विकास साझेदारहरुले केवल आँखा खोलिदिने मात्रै हो भन्ने भनाई प्रोफेसर ह्वाङ सुक, पिएचडी मत थियो । आफुलाई मूल्याङ्कन गरी आफ्नो क्षमता आंकलन गरेर अघि बढ्नुपर्ने, आफ्नो वास्तविकतासँग आफै जुध्नुपर्ने, आफ्नो परिस्थिति अनुसारको बुद्धि विलास गर्नेपर्ने, स्रोतको खर्च गर्दा प्राथमिकताहरुको प्राथमिकिकरण गर्नुपर्ने, वन साईज फिट अल भन्ने सिद्धान्त पुरानो भएकोले आफ्नै छलफलबाट समाधान निकाल्नुपर्ने, आफ्नो आवश्यकता अनुसार बस्तु तथा सेवाको महत्व हुने भएकोले आफुले अनुभव गरेको नै सबै हो भन्ने कुरा त्याग्नुपर्नेमा प्रोफेसरको जोड थियो । गुणस्तर सुधारमा ध्यान नदिई सुधार गर्न नसकिने, निरन्तर सुधारको नेतृत्व उच्च तहबाट नै लिनुपर्ने, असर र प्रभावको अनुगमन गरेर सुधारलाई निरन्तरता दिनुपर्ने, आफ्नो भूमिका पुरा आफैंले पुरा गरी जिम्मेवारी र उत्तरदायित्व सबैले पुरा गर्नुपर्ने, चुनौती भनेको अवसर हो भन्ने कुरा आन्तरिकीकरण गर्नुपर्ने, अरुको अन्धाधुन्द नक्कल गरेको नीति कार्यान्वयनयोग्य नहुने भएकोले आफ्ना विकल्पहरुको विष्लेषण आफ्नै तरीकाले गर्नुपर्नेमा उनको जोड थियो । नेतृत्वले नै सोच्नुपर्ने, सुधारको विकल्प खोज्नुपर्ने र जिम्मेवारी समेत लिनुपर्ने, नागरिकको आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने नकि आफ्नो विलासितामा, जानेको तथा सुनेको कुरा व्यवहारमा उतार्न नसके पदीय जिम्मेवारीमा बस्नेको औचित्य समाप्त हुने भनाई उनको थियो ।
पुरानै संरचनामा नयाँ प्रविधि भित्र्याउँदा प्रतिफल नआउनुका साथै भएको प्रणाली समेत भत्कन सक्छ भन्ने मत किम मी ह्वा, पिएचडी थियो । एआईको अधिक प्रयोगले मानिसमा भएको रचनात्मकता तथा सिर्जनशीलता नष्ट हुन सक्ने भएकोले त्यसतर्फ सचेत हुनुपर्नेमा उनको जोड थियो । कुनै पनि परिवर्तनलाई आत्मसात् गर्नको लागि संरचनाको सहयोग र सहकार्य अनिवार्य शर्त हो र उक्त शर्त पुरा नभएमा परिवर्तन संस्थागत सम्भव छैन, सहयोग र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने कुरामा उनको जोड थियो ।
आजको शासकीय व्यवस्थाको प्रतिफल नागरिकलाई दिनको लागि एआई महत्वपूर्ण रहने मत प्रोफेसर वोन हो, पिएचडी को थियो । एआईको प्रयोग विकास मामिलामा गर्दा सुरक्षामा निकै सतर्क हुनुपर्ने मत उनको थियो। एआई प्रयोग गर्ने विधि बनाउनुपर्छ, विधिले बाध्न सकिएन भने समस्या सिर्जना गर्छ, ।
करिब दुई हप्ताको दक्षिण कोरिया बसाईले एउटै ज्ञान प्राप्त भयो “उनिहरुले काम गरेछन्, हामीले गफ गरेछौं”। राष्ट्रप्रतिको बफादारी, नागरिकलाई गर्ने आदर र सत्कार तथा विदेशी नागरिकहरुलाई गर्ने सम्मानको वर्णन गरे साध्य नै छैन । अनि पो बनेछ त दक्षिण कोरिया !







