काठमाडौँ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा शुक्रबार रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको छ। निरन्तर वर्षाले नदी तथा खोलाको बहाव बढाएको छ भने विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएका छन्।
मौसमविद्का अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षा केही कम हुन सक्ने भए पनि पश्चिमी भूभागमा शुक्रबार रातिदेखि वर्षा बढ्ने सम्भावना छ। गण्डकी र लुम्बिनीमा केही दिनदेखि वर्षा भइरहेकामा प्रणालीको प्रभाव सुदूरपश्चिमसम्म फैलिने पूर्वानुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरका साना नदी तथा खोलामा बाढीको उच्च जोखिम औँल्याएको छ। शनिबार जोखिम भएका जिल्लाको सङ्ख्या २६ पुग्ने महाशाखाको पूर्वानुमान छ।
शनिबारका लागि नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा जोखिम देखाइएको छ। यीमध्ये १० जिल्ला शुक्रबारको सूचीमा पनि छन्।
महाशाखाले आइतबारदेखि सातै प्रदेशका साना नदीमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने जनाएको छ। सप्तकोशीमा पनि बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा नियमित डुबान हुने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।






