पाटन(ललितपुर) । सभामुख देवराज घिमिरेले एक देशका मात्र नभएकाले अन्तरराष्ट्रिय समुदाय मिलेर तिनको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
आज यहाँ आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य समस्या एक देशमा मात्र सीमित नरहेका, ती विश्वव्यापी छन् भन्दै तिनको समाधान पनि सामूहिक रूपमा गर्नुपर्ने बताए । उनले भने, “साझा दृष्टिकोण र सहकार्यद्वारा समस्याको समाधान खोजौँ, यो अन्तरराष्ट्रिय सहभागिताले त्यस दिशामा काम गरोस् ।”
सभामुख घिमिरेले ज्ञान, प्रविधि र सहकार्यका तीन आधारस्तम्भलाई एउटै मञ्चमा राखेर काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा चीन, भारत र नेपालका स्त्री रोगविशेषज्ञ सहभागी छन् ।
देशको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा व्याख्या गरेको बताउँदै सभामुख घिमिरेले स्वास्थ्यसम्बन्धी नीतिनिर्माणमा आफू प्रतिबद्ध रहेको उल्लेख गरे । उनले महिला स्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको बताउँदै सन् २००० यता मातृ मृत्युदर ७० प्रतिशतले घटेको जानकारी दिए।







