काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरू बिहानैदेखि भेला हुन थालेका छन् । सोमबार जेन जेडले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि विभिन्न स्थानबाट आएर उनीहरू प्रदर्शनको तयारीमा जुट्दै छन्।
सेनाले कब्जामा लिएको उक्त क्षेत्रमा जेन जेडहरू स्वस्फूर्त रुपमा भेला हुन थालेका हुन्। प्रदर्शनका क्रममा काठमाडौँमा १७ जना र उपत्यका बाहिर २ गरी १९ जनाले ज्यान गुमाइसकेका छन्। संसद भवन छिरेपछि जेनजीहरूमाथि प्रहरीले गोली चलाएको थियो।
आज पनि देशव्यापी नै विरोध प्रदर्शन गर्ने जेन जेडहरुले चेतावनी दिएका छन् । जेन जेड प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।
कुन अस्पतालमा कति जनाको मृत्यु
काठमाडौँको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको छ । ४ सय २१ जना घाइते भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।







