काठमाडौँ । आज आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले एक अपिल जारी गरेका छन् ।
देश अब जे जीको परिकल्पनाअनुसार चल्ने भन्दै देशको सम्पत्ति जोगाउनुपर्ने बताएका छन् ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पत्ति यिनको होइन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन । यिनको बाँकि सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरू जोगाउन जरुरी छ । राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु । आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रूपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।







