काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किने भएका छन् ।
गोरेका आफन्त सुन्धारा कारागारको सम्पर्कमा आएर गोरे फर्किने तयारीमा रहेको कारागार प्रशासनले बताएको छ ।
जेन जेड आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए ।
मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।
प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृह मन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।
छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेब्रुअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो ।







