काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराए। शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने, ‘धेरै धेरै बधाई छ। धेरै धेरै शुभकामना। तपाईँ सफल हुनुहोस्। देश सफल होस्।’
जेन जेड पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।
प्रधानमन्त्री कार्कीलाई ताजा जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी प्राप्त छ।







