काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा मिडियासँगै सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ।
बुढानीलकण्ठस्थित देउवा निवासमा भदौ २३ र २४ गते भएको विध्वंसात्मक जेन जेड आन्दोलनका क्रममा जेन जेडकै एक समूहले तोडफोड र आगजनी गरेको थियो । आन्दोलन भएको करिब पाँच दिनपछि उक्त घरलाई कसैले नदेखुन् भनेर जस्ताको पाताले तारबार गरिँदै छ ।
देउवाको घरमा काम गरिरहेका एक कामदारका अनुसार, ‘देउवा निवासमा नेपाली आर्मी खटिएको छ। त्यहाँ अहिले कुनै पनि मानिसहरूलाई प्रवेश गर्न दिएको छैन । हेर्ने निहुँमा मानिसहरूले सामान लिएर गएका कारण अहिले तारबार गरिँदै छ । भित्र जलेर केही पनि छैन । भएको सामानलाई संरक्षण गरिरहेका छौँ ।’
देउवाको घरको संरक्षणमा आफन्त र नेपाली आर्मी रहेको ती कामदारको भनाइ छ । तर आफन्त र सुरक्षाकर्मीको नाममा पार्टीका कार्यकर्ताहरूले लोभका कारण जान नदिएको त्यहाँ हेर्न आएका मानिसहरूको आरोप छ ।
जेन जीको आन्दोलन पहिलो १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि आन्दोलनरत जेन जेडले दोस्रो दिन बिहानैदेखि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।
आगजनी गरेको भोलिपल्टदेखि नै सर्वसाधारण केही ‘पैसा, सुन चाँदी’ वस्तु पाइन्छ कि भनेर खोज तलासी गर्न नेताका जेलेका घर धाइरहेको सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आइएको थियो । यद्यपि उक्त क्रम अझै रोकिएको छैन । देउवाको निवास हेर्न सामाखुसी, महाजगञ्ज लगायतका ठाउँबाट ट्याक्सी बुक गरेर समेत आइरहेका छन् ।
यस्तै, खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को निवासमा पनि प्रवेश निषेध गरिएको छ। प्रचण्डका आफन्तहरूले नै घरको गेड नै सिल गरेर प्रवेश निषेध गरेको स्थानीयको भनाइ छ ।







