काठमाडौँ । जेन जेड आन्दोलनले राजनीतिक उथलपुथल मात्रै होइन, घुसपैठ हुँदा गरिएको आगजनीले नेपालको सांस्कृतिक र ऐतिहासिक धरोहरलाई समेत गम्भीर क्षति पुर्याएको छ । आन्दोलनका क्रममा सिंहदरवारभित्र सुरक्षित राखिएका पुरातात्त्विक सम्पदा तथा मूल्यवान् ऐतिहासिक वस्तुहरू जलेर खरानी भएका छन् ।
विशेषगरी सिंहदरवारको माथिल्लो तलामा राखिएका सम्पदाहरू आन्दोलनकारीले आगजनी गरेपछि नष्ट भएको पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन् । उनका अनुसार त्यहाँ पुराना काठका कलाकृतिहरू, दुर्लभ दस्ताबेज र विभिन्न उपहारका रूपमा प्राप्त वस्तुहरू सुरक्षित राखिएका थिए ।
प्रधानाङ्गले भनिन्, “के–कस्ता सम्पदा जले भन्ने विस्तृत विवरण संकलन भइरहेको छ । तर अहिले माथिल्लो तलामा पुग्ने अवस्था छैन । त्यहाँ राखिएका सम्पदाहरू बाकसमा चापी लगाएर सुरक्षित राखिएका थिए । तर, अब कुन अवस्थामा छन् भन्ने कुरा अहिलेसम्म थाहा छैन ।” उनका अनुसार सबै सम्पदाको सूची विभागसँग भए पनि वास्तविक क्षति के भयो भन्ने कुरा स्थलमै प्रवेश गर्न नसक्दा अस्पष्ट छ । “हामीले धेरै कुरा बनाउन सक्छौँ, तर ऐतिहासिक र सांस्कृतिक सम्पदा फेरि बनाउन सकिँदैन । हजारौँ वर्ष पुराना धरोहर नष्ट भएपछि इतिहास नै मेटिएको छ । अब नयाँ बनाए पनि त्यो अघिल्लो पहिचान कहिल्यै फर्किँदैन,” उनले दुःख व्यक्त गरिन् ।
अपूरणीय क्षति
प्रमुख पुरातत्त्व अधिकृत राम बहादुर कुँवरले पनि यसलाई राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए । उनले भने, “इनभेन्टरीको आधारमा त्यहाँ के–के वस्तु थिए भन्ने भन्न सकिन्छ । केही बनाउन सकिने वस्तुलाई पुनः निर्माण गर्न सकिन्छ, तर जलेर खरानी भएका धरोहरलाई संरक्षण गर्ने सम्भावना न्यून छ ।”
उनका अनुसार अहिले त्यहाँको अवस्था जीर्ण भएकाले प्रवेश गर्न सकिएको छैन । “जेन जेड आन्दोलनका कारण अमूल्य वस्तुहरूको क्षति भएको छ, सम्पदाहरू जोगाउन पनि कठिन भएको छ,” उनले बताए ।
मेटियो इतिहास
महानिर्देशक प्रधानाङ्गले सम्पदा नष्ट हुनु नेपालका लागि मात्र नभई विश्व सम्पदा संरक्षणको दृष्टिले पनि ठूलो क्षति भएको बताइन् । उनले भनिन्, “हाम्रो सम्पदा हाम्रो इतिहास हो । यो देशको पहिचान हो । हामी विगतमा कति सभ्य थियौँ भन्ने कुरा सम्पदाले नै चिनाउँछ । तर अहिले त्यो पहिचान नष्ट भएको छ ।”
उनका अनुसार अरु देशहरूले पनि सम्पदा संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका छन् । “हरेक देशमा सम्पदा जोगाउन छुट्टै ऐन–कानुन हुन्छ । पुराना प्रविधिबाटै पुनः निर्माण गर्ने चलन छ । तर हाम्रो सम्पदा भने नष्ट भएको छ, अब नयाँ पुस्ताले त्यसको झलक मात्र पाउने छन्,” उनले भनिन् ।
सिंहदरवारमा भएको आगलागीलाई नेपालका लागि ठूलो क्षति भएको इतिहासकारहरूको भनाइ छ । सिंहदरवार केवल प्रशासनिक भवन मात्र नभई नेपालको राजनीतिक इतिहाससँग गाँसिएको स्मारक हो । यहाँ रहेका धरोहरहरू जलेर नष्ट हुनु भनेको नेपालको सामूहिक स्मृतिमा गहिरो घाउ लाग्नु भएको उनीहरूले टिप्पणी गरेका छन् ।
जेन जेड आन्दोलनका मागहरू जायज भए पनि सम्पदा नष्ट पार्ने कार्यले आन्दोलनको नैतिकता कमजोर बनाएको विज्ञहरू बताउँछन् । पुरातात्त्विक सम्पदा हाम्रो पहिचान हो । राजनीतिक असन्तुष्टि व्यक्त गर्न संस्कृतिमा प्रहार गर्नु कुनै हालतमा न्यायोचित नभएको उनीहरूको भनाइ छ ।







