काठमाडौँ । ‘जेन जेड’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् ।
कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा रहेका ४७८ कैदी बन्दीमध्ये ४५७ जना भागेका थिए । हालसम्म ३२२ जना फिर्ता आएका र १३५ जना अझै फरार रहेका छन् ।
कारागारमा रहेका २८ जना भारतीय कैदी बन्दीमध्ये नौ जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ । बाँकी १७ जना अझै फरार छन् । अभद्र व्यवहारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक भने कारागारमुक्त भएको प्रशासक जोशीले बताए ।
यसैगरी पाँच जना कैदी बन्दीले कैद अवधि पूरा गरी कारागारमुक्त भएका छन् । कारागारबाट बाहिरिएका तीन जना कैदी बन्दी सम्पर्कमा रहेको र भोलि बिहानसम्म फिर्ता आउने आश्वासन दिएको प्रशासक जोशीले जानकारी दिए ।
कारागारमा रहेका २१ जना कैदी बन्दी भने आन्दोलनका बेला पनि नभागी त्यही रहेका थिए । भागेका कैदी बन्दी पक्राउ गर्न प्रहरीले ‘सर्च एण्ड अरेष्ट अपरेसन’ सञ्चालन गरिरहेको छ ।







