काठमाडौँ । प्रहरीले पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थानसहित एक जनालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुर उदयपुर गढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार साँझ प्रहरीले काठमाडौँ महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पक्राउ गरेको हो ।
उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
हाल उनलाई नियन्त्रण लिई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







