नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । जेन जेड प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदी बन्दी फर्किने क्रम जारी छ ।
नवलपरासी कारागारमा अहिलेसम्म २२२ कैदी बन्दी फर्किएका कारागारका जेलर विकल श्रेष्ठले जानकारी दिए। उनका अनुसार गत भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदी बन्दी भागेका थिए ।
कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर कारागारबाट भागेका बताउँदै जेलर श्रेष्ठले १७ पुरुष र १२ जना महिला नभागी कारागारमा बसेका जानकारी दिए। कारागारको स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले कैदीबन्दीलाई केही नगरी निस्किन दिएको थियो ।
कैदीहरू यसरी भागेपछि थप सजाय हुनसक्ने सूचना जारी गरी फर्किन अनुरोध गरेसँगै दैनिक जसो कैदी बन्दी कारागारमा फर्किन थालेका उनले बताए।
नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये ४० जना भारतीय नागरिक रहेका जनाउँदै जेलर श्रेष्ठले एक जना कारागार फर्किसकेका बताए । उनका अनुसार नवलपरासी कारागारका १३ जना कैदी बन्दी मुलुकका अन्य कारागारमा गएर हाजिर भएका छन् भने अन्य कारागारका छ जना यहाँ आएका छन् ।
केन्द्रीय कारागारबाट भागेका दुई जना मोरक्कोका र एक जना साउथ अफ्रिकाका नागरिक (कैदी बन्दी)नवलपरासी कारागारमा रहेका जेलर श्रेष्ठले जानकारी दिए ।







