काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा कुनै पनि आन्दोलनका कार्यक्रम नरहेको प्रस्ट्याएका छन् ।
अक्टोबर ९ मा फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा त्रास फैलाइएपछि उनले सो प्रष्टीकरण दिएका हुन् ।
ढुंगानाले देशमा कायम भएको शान्ति विचलन युवाहरूले नचाहेको बताए । टिकटकमा भिडियो पोस्ट गर्दै ढुंगानाले भनेका छन्, ‘धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ । म प्रष्ट्याउन चाहन्छु अक्टोवर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन । त्यस्तोमा हामी संलग्न हुँदैनौ। शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन ।’
एजेन्डाबिना कुनै पनि आन्दोलन गर्नुको औचित्य नहुने ढुंगानाको भनाइ छ । उनले थपे, बअक्टोबर ८ मा हामी मुसा मार्न गएका थियौँ, बाघ मारेर ल्यायौ । अब बाघ बोकेर ल्याउन सकिँदैन जंगलबाट । त्यस्तो अवस्था थियो । एजेन्डाबिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिँदैनौँ । देशमा बनिसकेको शान्ति फेरि भंग गर्नेवाला छैनौँ ।’
अहिले आन्दोलन गर्नुपर्ने कुनै पनि कारण नरहेको ढुंगानाले बताए । आफूहरूको माग पूरा नभएमा विभिन्न ढंगबाट दबाब दिन सकिने उनको भनाइ छ । ‘एजेन्डाबिनाको आन्दोलनको कुनै अर्थ छैन । हामी जेनजी यसमा संलग्न छैनौँ’ उनले दोहोर्याए ।







