२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी विद्रोहका पाँच आयामहरू

अ+ अ-

नेपालको राजनीतिक इतिहासमा जेनजी विद्रोह हालसम्मको सबैभन्दा प्रभावशाली विद्रोह हो भन्दा अत्युक्ति नहोला। असाध्यै छोटो समयमा सम्पन्न भएको यो आन्दोलन कुनै राजनीतिक दलद्वारा परिचालित नभई स्वतन्त्र रूपमा जेनजी समूहका युवाहरूद्वारा आयोजित विद्रोह थियो। शुरुमा भ्रष्ट्राचारयुक्त शासन शैली, दलीय नेताहरूको आजीवन सत्तामा टिकिरहने आकाङ्क्षा, तिनका सन्ततिहरूको भयङ्कर विलासी जीवनशैली, नातावाद, कृपावाद जस्ता विकृतिहरू प्रति लक्षित यो आन्दोलनले विशिष्ट उचाइ त्यतिबेला लियो जतिबेला सत्तासीन नेतृत्वले निर्मम तरिकाले कलिला विद्रोहीहरूको टाउकोमा गोली बर्साउन थाल्यो। भाद्र २३ गतेको अक्षम्य नरसंहारपछि भाद्र २४ गते जेनजी विद्रोहले भयानक रूप लियो, जसको कारण विभिन्न स्वार्थ समूहको समेत उपस्थितिमा राष्ट्रका अमूल्य धरोहरहरूमाथि आगो लगाएर ध्वस्त पारियो।

जेनजी विद्रोहलाई तत्कालीन सरकारले केटाकेटीको रोदन सम्झेर अवमूल्यन गरेकै हो। कसैको कुरा नसुन्ने, म बाहेक कोही छैन भन्ने, राजा फालेकोमा घमण्ड गर्ने तर आफैँ बादशाहभन्दा कम नदेखिने कु-प्रवृत्ति भएका नेताले विद्रोहलाई बन्दुकले दबाउन सकिन्छ भनेर निर्दोष तर चेतनशील युवाहरूलाई मारेरै सिध्याउने दुष्प्रयास गरेकै हुन्। नेपाल प्रहरी पूर्णरुपमा असफल भएको अवस्थामा नेपाली सेनाले आगोमा घ्यु थप्न नचाहेको कारणले मात्र यो आन्दोलन केही मत्थर भएको देखिएको थियो। यसरी हेर्दा नेपाली राजनीतिक इतिहासमा जेनजी विद्रोहका प्रमुख पाँच वटा आयामहरू रहेको देखिन्छ। यहाँ तिनै पाँच आयामहरूको विषयमा केही चर्चा गर्ने प्रयास गरिएको छ।

जेनजी विद्रोहको पहिलो आयाम भनेको यसको आकस्मिकता, भव्यता र सुशासनप्रतिको अनवरत चाहना नै हो। भाद्र २२ गते बेलुकीसम्म पनि धेरैले यो विद्रोहलाई सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्ध युवाहरूको आन्दोलनको रूपमा मात्रै बुझेका थिए। यो बिजुलीको गति जसरी आयो र छोटो समयमा आफ्नो विशाल प्रभाव छोडेर गयो। यति छोटो समयमा यो तहको विद्रोह नेपालको राजनीतिक इतिहासमा कहिल्यै भएकै थिएन भन्दा पनि हुन्छ। भविष्यमा यही तहको, यस्तै उचाइको विद्रोह हुने नहुने अहिले कुनै आङ्कलन गर्न सकिन्न। तर यसले एउटा अप्रत्याशित, अदभूत, विशालतम, बहुप्रभावी र संसारलाई चकित पार्ने आन्दोलनको रूप ग्रहण गरिसकेको अवस्था रह्यो।

जेनजी विद्रोहको दोस्रो आयाम भनेको यसमा संलग्न सूचना प्रविधिमा आधारित अभिव्यक्ति स्वतन्त्रताको खोजी हो। तत्कालीन सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको भएता पनि प्रविधिमा पोख्त युवाहरूले विभिन्न किसिमका भीपीएन प्रयोग गरेर एक आपसमा सञ्चार समन्वय स्थापना गर्न सफल भएका थिए। प्रतिबन्ध लगाउने सरकारी संयन्त्रहरूले नै स्वयम् त्यस्तै भीपीएन प्रयोग गरी युट्युबबाट आन्दोलन हेरिरहेका थिए। दलीय राजनीतिक पृष्ठभूमिबाट आएको नभएता पनि आन्दोलनकारी युवाहरू राजनीतिक रूपमा सचेत थिए र मूलत: तिनीहरूको सूचना प्रविधिमैत्री कौशलले आन्दोलनमा सहयोग पुगेको थियो। उनीहरू नेपो-बेबीहरूको चर्तिकलाबाट आजित भइसकेका थिए भने शासन प्रशासनमा चढ्दो भ्रष्ट्राचार र दण्डहीनताको ग्राफबाट समेत दिक्क भइसकेका थिए।

जेनजी आन्दोलनको तेस्रो आयाम भनेको पर्याप्त तयारी र नेतृत्वविहीन अवस्थामा पनि यसमा देखिएको निडरता, लक्ष्य उन्मुखता र निरन्तरता हो। हुन त कुनै पनि आन्दोलनले नेतृत्व आफैँ जन्माउँछ पनि भनिन्छ। तथापि आन्दोलनको उचाइ यो तहमा पुग्ने आङ्कलन गरिएको थियो भने पक्कै पनि जेनजीले पर्याप्त तयारी र नेतृत्वसहितको मोर्चा खडा गर्ने थियो भन्ने विश्वास गर्न सकिन्छ। यसबाट के समेत आङ्कलन गर्न सकिन्छ भने शासन सत्ता खराब हुँदै गयो भने त्यसलाई फाल्नको लागि राजनीतिक तयारीसहितको मोर्चाबन्दी आवश्यक छैन, स्वतःस्फूर्त रूपमा उत्पन्न हुने विद्रोहले पनि कहिलेकहीँ विराट परिवर्तन ल्याउन सक्छ। जेनजी युवाहरूमा शुरुमा नेतृत्व तहमा देखिएका केही युवाहरू पछिसम्म नेतृत्वमा रहेको नदेखिनु र आन्दोलनमा सहभागी युवाहरूमध्येबाट नेतृत्वमा नयाँ अनुहार देखिनुले यसको सर्वव्यापकता दर्साउँछ। 

जेनजी आन्दोलनको चौथो महत्त्वपूर्ण आयाम शासन सञ्चालनका हरेक तहमा जनचाहनामा आधारित विशुद्ध नयाँपनको खोजी नै हो। नेपाली जनताले नरुचाएको प्रदेशको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी, दलीय भागबन्डामा होइन-योग्यता र निष्ठामा आधारित राजनीतिक नियुक्ति, आधुनिक र प्रविधिमैत्री निर्वाचन प्रणाली जहाँ “कसैलाई पनि भोट दिन्न” भन्ने विकल्प देखि कार्यसम्पादन मूल्याङ्कनको आधारमा सांसद फिर्ता गर्ने प्रणाली, विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न सक्ने व्यवस्थासम्मका व्यवस्थाहरूको लागि चर्को माग रहेको छ। जेनजी पुस्ताले गरेको सशक्त विद्रोह भएको र उनीहरूमा प्रशस्त राजनीतिक र सामाजिक चेतना रहेको कारण अब बालिग मताधिकार समेत १८ वर्ष नभई १६ वर्ष गर्नुपर्ने माग समेत सुन्न थालिएको छ। 

जेनजी विद्रोहको पाँचौँ सशक्त आयाम भनेको आम युवाले गर्नुपर्ने निरन्तर खबरदारी र सतर्कता पनि हो। कतिपय पुरानो चिन्तन भएका मानिसहरूले जेनजीलाई हावाहुरीको संज्ञा दिदैं जेनजी हरायो, टुक्रियो, बिलायो जस्ता झुट अभिव्यक्तिहरू पनि दिइरहेका छन्।अझै एउटा विद्धतवर्गले त जेनजीको मुद्दा खोसियो, वास्तविक जेनजीहरू शहीद भए, नक्कली जेनजीहरू हाबी भए भन्नेसम्मका हौवाहरू फैलाउन भ्याएका छन्। यस सन्दर्भमा सम्पूर्ण जेनजी र परिवर्तनकामी पुस्ताले सोच्नुपर्ने कुरा के हो भने जेनजीको रगतले लेखिएको इतिहास त्यति सजिलै मेटिनेवाला छैन। बरु यसलाई धुमिल बनाउन खोज्ने, कम आँक्ने, हडप्न खोज्ने प्रवृत्तिविरुद्ध सबैले खबरदारी गर्न सक्नुपर्छ। 

अहिले पुरानो दलीय व्यवस्थाका हिमायती नेतृत्व र तिनका कार्यकर्ताहरूले आफूलाई असली जेनजी वा उसको संरक्षक दाबी गर्ने प्रतिस्पर्धा समेत गर्दैछन्। यसमा जेनजीले बुझ्नुपर्ने कुरा के हो भने चाहे राजनीतिमा होस् वा कर्मचारीतन्त्रमा अव हिजोको दिनमा कुनै राजनीतिक दल, त्यसको भातृ-सङ्गठन वा कुनै नेता विशेषको तलुवा चाटेर सिंहदरवार कब्जा गरेर बसेकाहरूलाई तुरुन्तै जनताको सेवामा दुर्गमतिर पठाइहाल्नुपर्छ। तिनीहरूको करतुतको भण्डाफोर गरेर गल्ती गरेको हदसम्म एक-एकलाई कारबाही गर्ने हिम्मत देखाउनुपर्छ। इमान्दार, स्वच्छ छवि भएका, दलीय राजनीतिमा नलागेका, हिजोको शासन सत्ताबाट पीडित योग्य व्यक्तिलाई अवसर दिइनुपर्छ। 

लेखक नेपाल सरकारका शाखा अधिकृत हुन्